याक्खा जातीमा सिक आप्मा
विश्वभरिका आदिवासी जनजाति समुदायमा आपसमा मिल्ने चार वटा कुराहरु मैले पाएको छु । ती चार कुराहरु हुन ः छालाको बाजा, सामूहिक नृत्य, रक्सीको प्रयोग र हतियारमा तीर–धनु । छालाको बाजा र तीर–धनुले आदिवासी जनजाति समुदायको शिकारी चरित्र वा मानव विकास क्रमको अवस्था जाहेर गर्दछ । रक्सीको प्रयोग औषधीय तथा सूरवीरताको सहायकको रुपमा भएको पाइन्छ भने सामुहिक नृत्यले आदिवासीको सामुहिक भावनाको प्रतिनिधित्व वा उद्बोधन गर्ने काम गर्दछ । सामुहिक नृत्यले शिकार प्राप्तिको खुशी पनि व्यक्त गर्दछ । भोकले प्याकप्याक्ती भएर खानाको प्रतीक्षा गरिरहेका आदिवासी समुदायका अगाडि तीर–धनुको सहाराले कयौ दिनपछि शिकार मारेर ल्याउ“दा स्वभाविक रुपमा शिकारवरिपरि उफ्रिने र खुशी व्यक्त गर्ने प्रक्रिया नै पछि गएर नृत्य बन्न पुगेको अनुमान गर्न सकिन्छ । त्यस्तै, शिकारको छालाबाटै बाजा बनाउने पहिलो प्रविधिको विकास भएको हुन सक्छ ।
ँमाथिका चारै वटा कुराहरु किरात याक्खा जातिमा पनि पाइन्छ । त्यसैले, किरात याक्खाहरु नेपालका आदिवासी जनजाति हुन् । तर आज याक्खा जातिको पहिचान सङ्कटग्रस्त बन्न पुगेको छ । कुनै पनि जातिको अलग पहिचान गराउने दुईवटा मुख्य ‘सर्टिफिकेट’ हुन्छ, भाषा र संस्कृति । मानव तथा समाजशास्त्रले भाषा र संस्कृतिलाई नै कुनै पनि जातिको पहिचानको मूलआधार मान्दछ । त्यसैले भनिन्छ, कुनै जातिको भाषा र संस्कृतिलाई समाप्त पारिदिएमा उसको पहिचान वा त्यो जातिको अस्तित्व समाप्त भएर जान्छ । विगत २ सय ४० वर्षदेखिको केन्द्रिकृत तथा जातीय एकाधिकारवादी एकात्मक राज्यले याक्खा जातिको भाषा र संस्कृतिमाथि निरन्तर प्रहार र दमन गर्दै आएकोले आज याक्खा जातिको पहिचान सङ्कटमा पर्न गएको हो । अहिले देश लोकतान्त्रिक÷गणतन्त्रात्मक परिवर्तनसँगै सङ्घीयतातर्फ उन्मुख भइरहेको छ । अब याक्खा जातिले आफ्नो भाषा र संस्कृतिको पुनारोत्थान, सम्वद्र्धन तथा संरक्षण गर्दै अगाडि बढ्नु आजको आवश्यक्ता हो र यो कुरा प्रत्येक याक्खाले अनुबोध गर्न सक्नु पर्दछ । यसको लागि धुमिल बनेका र विस्मृतिको अँध्यारो सुरुङभित्र कैद याक्खा भाषा, धर्म र संस्कृतिको खोजी गर्दै प्रचार–प्रसार गर्न कटिबद्ध भएर लाग्नु पर्दछ । यसै क्रममा यस लेखमा याक्खा जातीय सांस्कृतिक खेल ‘पिसिक आप्मा’को बारेमा जानेबुझे जतिको जानकारी पस्किइने जमर्को गरिएको छ ।
आफ्ना मौलिक धार्मिक संस्कार र सांस्कृतिक पक्षहरुका धनी किरात याक्खा जातिमा खेलको रुपमा परम्परागत रुपमा चल्दै आएको एक सांस्कृतिक पक्ष हो–‘पिसिक आप्मा ।’ पिसिक आप्माको अर्थ हुन्छ, तीरन्दाजी वा धनु–काँडको निशानेबाजी । यो सांस्कृतिक पक्षरुपी खेल याक्खा जातिको बाहुल्य बसोबास भएको संखुवासभा जिल्लाका विभिन्न गाउ“ विकास समिति र वस्तीहरु दशैंको बेला याक्खा युवाहरु भेला भई प्रतियोगितात्मक रुपमा आयोजना गर्ने गरिन्छ । यो सांस्कृतिक खेल ‘पिसिक आप्मा’ याक्खा जातिको अलग जातीय पहिचानको सांस्कृतिक आधार पनि हो । यो खेल दशैंको बेलामा आयोजना गरिने हु“दा यसमा हिन्दूधर्मको प्रभाव रहेको होला भन्ने कसै कसैले अनुमान गर्न सक्दछ तर कुरा त्यसो होइन, बरु याक्खा जातीय सांस्कृतिक खेल खेलिने समयमै हिन्दूधर्मको चाड दशैं पारेर यसको मौलिकतालाई हनन गर्न खोजिएको भने देखिन्छ । यथार्थ कुरा चाहि दशैँं शुरुवात हुनुभन्दा अगाडिदेखि याक्खा जातीय सांस्कृतिक खेल ‘पिसिक आप्मा’ याक्खा गाउ“वस्तीहरुमा खेलिदै आएको थियो र अद्यापि खेलिदैछ ।
पिसिक आप्मा आयोजना गर्नका लागि सबैभन्दा पहिले घरको छनौट गरिन्छ । पिसिक आप्मा का लागि विभिन्न याक्खा घरपरिवारहरुले आफूलाई आयोजक घरको रुपमा प्रस्तुत गर्दछन्, त्यसमध्ये एउटा घरलाई सबैको सम्मतीबाट छनौट गरिन्छ । पिसिक आप्माका लागि जुन घर छनौट हुन्छ, त्यस घरका मूलीले नै त्यस वर्षको ‘पिसिक आप्मा’ खेल–कार्यक्रमको अध्यक्षता गर्दछन् । यसै सम्मानका लागि विश्व फुटबल आयोजना गर्न देशहरुको होड लागथेझैं याक्खा घरपरिवारहरुबीच आयोजनाका लागि होड चल्ने गर्दछ । ‘पिसिक आप्मा’ खेल्ने घरको छनौट एक हप्तामा अगाडि नै गरिन्छ र त्यसबीच खेलको प्रचार–प्रसार तथा पूर्वाधार तयारीका कार्यहरु गरिन्छ । खेलमा भाग लिनका लागि गाउ“का युवाहरुले आ–आफ्नो घरमा अभ्यास थालनी गर्दछन् । सबैको ध्येय पिसिक आप्माको विजेता प्राप्त गर्ने सम्मानजक फेट्टा र त्यसपछि गाउ“लेहरुबाट प्राप्त हुने प्रशंसातर्फ केन्द्रित भएको हुन्छ ।
पिसिक आप्मा आयोजना गरिने दिन जुन घरमा आयोजना गरिने हो, त्यस घरको परिसरमा सानोतिनो मेला नै लाग्ने गर्दछ । पसलहरुसमेत थापिन्छन् । गाउँका तन्देरी–तरुनी, केटाकेटी तथा बुढाबूढीहरु सबै कामकाज थाती राखेर आयोजन स्थलमा भेला हुन्छन् । पिसिक आप्मा प्रतियोगितामा भाग लिने युवाहरुले अघिल्लो दिनै नाम लेखाइसकेका हुन्छन् र उनीहरु तयारीका साथ आयोजना स्थलमा आएका हुन्छन् । पिसिक आप्मा प्रतियोगिताको लागि घरको भित्ता वा निश्चित ठाउँमा नरम काठको फल्याकमा गोल घेराहरु बनाइन्छन् । ती गोल घेराहरुको बीच भागमा सबैभन्दा सानो घेरा हुन्छ, जसले त्यस घेरालाई निश्चित दूरीबाट निशाना लगाउ“दछ, उही नै विजयी घोषित हुन्छ । आपसी सहमतिअनुसार खेलका लागि एक प्रतियोगीले कति वटा तीर हान्न पाउने सो कुरा तय भएको हुन्छ, त्यसैअनुरुप पालैपालो धनु–काँड हान्नु पर्दछ । कथम्कदाचित् दुई या तीन जनाले सानो गोल घेरामा उत्तिकै पोइण्टमा निशाना लगाएको खण्डमा उनीहरुबीच पुनः प्रतियोगिता गराइन्छ ।
पिसिक आप्मा खेलमा बाजीँ पनि थाप्ने प्रचलन पनि छ । गोल घेराहरुअनुसार बाजीको रकम तय हुन्छ । गोल घेरा जति ठूलो भयो, बाजीको रकम त्यति कम हुन्छ भने जति सानो हु“दै गयो, उति रकम पनि बढाउ“दै लगिन्छ । प्रचलन वा खेलको नियमअनुसार आयोजक घरका मूली अर्थात् त्यस कार्यक्रमका अध्यक्षले विजेता याक्खा युवालाई त्यस वर्षको ‘याक्खा–हाङ’ घोषणा गर्दै मुकुटरुपी फेट्टा गुँथिदिन्छन् र विजयको टीका लगाइदिई पुरस्कारस्वरुप केही सिक्काहरु वा रकम दिन्छन् । पिसिक आप्माका विजयी याक्खा युवा गाउँकै नायक (हिरो) बन्छ र उसैले तेन्ताम्मा (गाउ“पूजा)को गाउ“रक्षक टोलीको कमाण्डर हुने (नेतृत्व गर्ने) अवसर पनि पाउ“छ । पहिले पहिले पिसिक आप्माका विजयी ‘याक्खा–हाङ’ गाउ“का याक्खा युवतीहरुको ‘सेलिब्रेटी’ अर्थात् चहेता बन्ने गर्दथे । पिसिक आप्माको अर्को एक नियम पनि छ । त्यो के भने विजयीलाई गुँथाइने मुकुटरुपी फेट्टा सँधाको लागि विजेताले धारण गर्न भने पाउदैन । अर्को वर्ष फेरि सोही फेट्टा ल्याई प्रतियोगितामा सामेल गरिनु पर्दछ अर्थात् भनौं फेट्टा ‘रनिङ कप’ खालको हुन्छ ।
याक्खा सांस्कृतिक पक्षरुपी खेल ‘पिसिक आप्मा’लाई दृष्टिगत गर्दा वा त्यसको विश्लेषण गर्दा प्राचीन कविला कालमा अन्य कविलाहरुको संभावित आक्रमणविरुद्ध प्रतिरक्षा गर्न याक्खा युवाहरुलाई युद्ध–विद्या सिकाउने र त्यसको परीक्षण लिने प्रक्रियाको रुपमा लिन सकिन्छ । त्यस बेला ‘पिसिक आप्मा’ शायद सैनिक अभ्यासको एक पक्ष थियो होला । यसै अभ्यासबाट गाउ“रक्षकहरुको पल्टन निर्माण गरी आफ्नो कविलाको सुरक्षा गर्ने गरिन्थ्यो होला । ‘पिसिक आप्मा’ मा ‘याक्खा–हाङ’ बन्न सफल युवालाई तेन्ताम्मा गर्दा गाउँरक्षक टोलीको हाङगुम्बा (प्रमुख, कमाण्डर नियुक्त गर्ने अद्यावधिको प्रचलनले पनि यसै कुरातर्फ सङ्केत गर्दछ ।
गोपाल देवान, धरान
९८४२०३९४५१
semmangbis@gmail.com

Comments
Post a Comment