याक्खा जातिका केही बाजा र नृत्यहरु


याक्खा जाति मौलिक संस्कृतिमा धनी जाति हो भन्ने कुरा यस जातिमा पाइने डोकेनी लाक, केइलाक, तेन्ताम्मा, पिसिक आप्मालगायत अन्य विविध सांस्कृतिक पक्षहरुबाट स्पष्ट हुन्छ । स्वभावले नै आदिवासी जनजाति नाचगान प्रिय हुन्छन । यसबाट आदिवासी जनजातिहरुमा सांस्कृतिक विविधता र विरासत पनि थपिदै जान्छ । कुनै पनि जातिको सांस्कृतिक सम्पदा वा विरासतको कुरा गर्दा उनीहरुको बाजागाजा, गीत, नृत्य आदिको कुरा आउँछ अर्थात् यी कुराहरु सांस्कृतिक सम्पदाका दृष्टान्त हुन् ।  

समयको अन्तराल र राज्यपक्षको विभेद र दमनका कारण याक्खा जातीय थुप्रै बाजागाजा र नृत्यहरु आज अतीतको अज्ञात गर्भभित्र हराइसकेका छन् र जे जति छन्, तिनीहरु पनि संरक्षणविहिन अनि लोपोन्मुख अवस्थामा छन् । यस सन्दर्भमा याक्खा जाति आफ्ना सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनमा लाग्नु पर्ने गम्भीर आवश्यक्ता महसूस हुन्छ । विशेषतः युवा याक्खाहरुको काँधमा याक्खा जातीय सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्वद्र्धनको ऐतिहासिक जिम्मेवारी रहेको छ भन्दा कुनै अत्युक्ति हुँदैन । अग्रज पुस्ताबाट सोधीखोजी गर्नु र आफ्ना गाउ“घरहरुमा विलोपीय अवस्थामा रहेका बाजागाजा तथा नृत्यहरुको पुनरोत्थान गर्नु युवा याक्खाको दायित्व हो । तसर्थ, यस लेखमा याक्खा गाउँघरहरुमा अद्यापि बजाइदै आएका बाजागाजा र नाच्ने गरिएका नृत्यहरुबारेमा जानेसम्म संक्षेपमा चिनारी दिने प्रयास गरिएको छ । 

१) फुलुलुवा–(तीन प्वाले बाँसुरी) 
याक्खा जातीय बाजागाजाहरुमध्ये पहिले अत्यधिक प्रचलनमा रहेको फुलुलुवा आज लोपोन्मुख भइसकेको छ  । कति याक्खालाई त फुलुलुवाबारे थाहै पनि नहुन सक्छ । फुलुलुवामा तीनवटा प्वालहरु मात्र हुन्छन् । बजाउन जान्ने पारखीले फुलुलुवाबाट सा¥है कर्णप्रिय धुन निकाल्छन् । यसको धुन कर्णप्रियमात्रै हुदैन, यसबाट निस्कने धुनले मानिसलाई धुरुधुरु रुवाउन पनि सक्छ । खुशी र विरह वा वियोग दुबै अवस्थामा फुलुलुवा बजाइन्छ । यसबाट विभिन्न राग र धूनका निकाल्न सकिन्छ । जुनेली रातमा यसबाट निस्केका विरहका धूनले सबैको मनलाई तरल बनाइदिन सक्छ र मानिसलाई अर्कै संसारमा विचरण गर्न पु¥याउँछ । फुलुलुवाले युवा–युवतीहरुका लागि मायाप्रीतिका रोमाण्टिक धून पनि दिन्छ । फुलुलुवा केटाकेटीहरुलाई सुताउन ‘थाक्माना’ (लोरी धून) का लागि पनि प्रसिद्ध मानिन्छ । फुलुलुवाको संरक्षण गर्न सकियो भने नेपाली संगीतमा याक्खा जातीय बाजाबाट नौलो योगदान दिन सकिन्छ ।

२) आङ्गुम (बिनायो) 
निगालो बाँसबाटमात्र बनाइने बिनायोलाई नै याक्खा भाषामा ‘आङ्गुम’ भनिन्छ । आङगुम विशेष गरी याक्खा युवा युवतीहरुबीच उत्पन्न हुने प्रेमका भाव–अभिव्यक्तिका लागि प्रयोग गरिन्छ । आङ्गुमबाट अन्य धूनहरु पनि निकाल्न सकिन्छ । याक्खा बिहे–बटुलमा आङ्गुम बजाएर युवायुवतीहरुले रमाइलो गर्नुका साथै आफ्नो साथी बेहुलीको रुपमा विछोड हुन लाग्दा वेदनाप्लावित गीतका धूनहरु पनि बजाउ“छन् ।

३) चुट्की–
यो कुनै यन्त्ररुपी बाजा होइन । हातका औंलाहरुबाट लययुक्त र तालबद्ध रुपले निकालिने धून नै चुट्की हो र याक्खा जातिमा यसलाई पनि बाजाको रुपमा प्रयोग गरिन्छ । याक्खा जातिको नृत्य तथा गीतहरुमा चुटकीको ठूलो ठूलो महत्व रहेको हुन्छ र यो ज्यादै प्रचलित छ । आङ्गुम बजाउ“दै चुट्कीबाट विशेष प्रकारको धून निकाली विशेष  प्रकारको नृत्य गर्ने परम्परा याक्खाहरुमा छ । चुट्कीको प्रतियोगिता हुन्न्छ । याक्सीगुममा भेला भएका युवा युवतीहरुले प्रतियोगिता जित्नका लागि हात सफासँग धोएर खरानी दल्छन्, जसले गर्दा चुट्कीको आवाजमा आवृत्ति र तीव्रता बढ्न जान्छ ।

४) केइ–(ढोल) 
याक्खा भाषामा ढोललाई ‘केइ’ भनिन्छ । यो बाजा खासगरी ‘केइलाक्’ भन्ने नाचमा बजाइन्छ । केइलाक भनेको केइ बजाएर नाचिने नाच नै हो । ‘लाक’ को अर्थ याक्खा भाषामा नाच वा नृत्य हुन्छ । लिम्बू जातिमा नाचिने च्याब्रुङ नाचजस्तै याक्खा जातिले नाच्ने नाच वा नृत्य केइलाक हो । तर केइलाक लिम्बूको च्याब्रुङभन्दा अलिक ‘फष्ट बीट’ को अर्थात् फूर्तिलो हुन्छ । केइलाक मा विभिन्न भावाभिनयबाट वार्तालापसमेत गर्ने गरिन्छ ।
        
५) याक्सीगुम–(सांस्कृतिक घर वा क्लब)
   गुरुङ जनजातिमा ‘रोदीघर’ भनेजस्तै याक्खा जातिको सा“स्कृतिक भेटघाट र नाचगान गर्ने थलोलाई ‘याक्सीगुम’ भनिन्छ । याक्सीगुम विशेषतः खेती भएको ठाउँमा बनाइन्छ । पहिले पहिले दिनभरि खेती गरेर थाकेका याक्खा युवा–युवतीहरु बेल्का याक्सीगुममा भेला भएर नाच्ने गाउने गर्दथे । यो थकाइ मार्ने याक्खा जातिको अनौठो तरिका पनि हो । विशेषतः चाडबाड र विभिन्न पर्वका लागि याक्खा युवायुवतीहरु याक्सीगुममा जम्मा भएर नाच र गीतको अभ्याससमेत गर्थे । याक्सीगुममै बाजागाजाहरु राख्ने प्रचलन थियो । तर हिजोआज राज्यको सांस्कृतिक दमन र पश्चिमा उरण्ठ्यौला संस्कृतिको प्रभावमा परेर याक्सीगुमको प्रचलन हराउँदै गएको छ ।
गोपाल देवान, धरान
९८४२०३९४५१ 
semmangbis@gmail.com

Comments

  1. अनि खै त चाबाक् लाक् (धान नाच) यो चाहि याक्खाको पर्दैन कि के हो?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पूर्व तताइरहेको ढुङ्गा "खुवालुङ"

याक्खा समुदायमा ‘बलि राजाको हुकुम’ Yakhha culture

किराँत याक्खा जाति भित्र विविधतामा एकता आवश्यक