मर्चाको आविष्कारबारे याक्खा मिथक
याक्खा जातिमा खावा (मर्चा)को ठूलो महत्व छ । विभिन्न पूजाआजा तथा पवित्र कार्यमा खावा (मर्चा) अनिवार्य रुपमा चाहिन्छ । खावा (मर्चा) मा वैज्ञानिक रुपमा औषधीय र एण्टिबायोटिक गुण हुन्छ । त्यसैले, हरेक एलोपैथिक औषधिमा केही प्रतिशत ‘अल्कोहल’ अर्थात् मर्चायुक्त रक्सी हुन्छ । छ महिने जाँडमा कीटाणु मार्न सक्ने एण्टिबायोटिक गुण हुने कुरा वैभानिक सत्य हो ।
याक्खा पुर्खाहरुले लामो समयको अनुभवबाट यो कुरा बुझेका थिए । उनीहरुले जाँडले घर सेचन गर्दा, घरको वरिपरि छर्किदा घर पवित्र (कीटाणुरहित, स्वस्थ) हुुन्छ भन्ने पत्तो लगाएका थिए । सोही कुरालाई मध्येनजर गरेर उनीहरुले पूजापछि जाँडले घर सेचन गर्ने प्रचलन चलाएका थिए । त्यही खावा अर्थात् मर्चाको आविष्कारबारे याक्खा जातिमा एउटा रोचक मिथक प्रचलनमा रहेको छ । याक्खा जातिमा खावा (मर्चा) को आविष्कारकको रुपमा रोघालाई मानिन्छ । याक्खा जातिमा खावा (मर्चा) को आविष्कारसम्बन्धी मिथक यस प्रकार रहेको छ ः
याक्खा पुर्खाहरुले लामो समयको अनुभवबाट यो कुरा बुझेका थिए । उनीहरुले जाँडले घर सेचन गर्दा, घरको वरिपरि छर्किदा घर पवित्र (कीटाणुरहित, स्वस्थ) हुुन्छ भन्ने पत्तो लगाएका थिए । सोही कुरालाई मध्येनजर गरेर उनीहरुले पूजापछि जाँडले घर सेचन गर्ने प्रचलन चलाएका थिए । त्यही खावा अर्थात् मर्चाको आविष्कारबारे याक्खा जातिमा एउटा रोचक मिथक प्रचलनमा रहेको छ । याक्खा जातिमा खावा (मर्चा) को आविष्कारकको रुपमा रोघालाई मानिन्छ । याक्खा जातिमा खावा (मर्चा) को आविष्कारसम्बन्धी मिथक यस प्रकार रहेको छ ः
परापूर्व कालमा याक्खा समुदायका सुम्निमा१ र रोघा एकदम मिल्ने संगिनी थिए । उनीहरु एउटै गाउ“मा बस्दथे र आपसमा नङमासुजस्तो मिल्दथे । गाउँलेहरुले उनीहरुलाई आन्दा्रभु“डी जोडिएका संगीनीको नाम दिएका थिए । हुन पनि ती दुईबीच कुनै गोप्य कुरा वा आत्म वृत्तान्त लुक्दैनथ्यो । जता जा“दा र जे गर्दा पनि दुबै संगीनीहरु स“गस“गै हुन्थे । त्यो बेलाको किरात याक्खा समाज विस्तारै कृषियुगबाट कुटीर उद्योगतर्फ सङ्क्रमण भइरहेको थियो । त्यसैले, तत्कालिन सामाजिक–आर्थिक परिवर्तनको संरचनाअनुसार सुम्निमा तान बुन्ने गर्दथिन् भने रोघा भष्मे फडानी गरी बिराइएको खेत–‘लोहोसे’ मा खेतालाहरुस“गै काम गर्न जान्थिन् । दुईजना यही कामको विभाजनको बेलामात्रै छुट्टिन्थे ।
लोहासेको मेलोमा काम गर्न जाँदा रोघाले दैनिकरुपमा घरबाटै खार्चा (खाजा) बनाई लग्ने र्गिर्थन् र दिउँसोभरि घैया, कोदो, मकै छर्ने काम गरेर बेल्कामात्र घर फर्कन्थिन् । यसै क्रममा कुहकरो मोनेन (चैत्र महीना) को एकदिन लाहोसेमा काम गर्न गएको बेला प्रचण्ड घाम लाग्यो । प्रचण्ड घामले गर्दा रोघाको शरीरबाट पानी जति पसीना भएर बगी जानाले उनको ओठमुख सुकेर अत्यधिक तीर्खाले उनलाई निस्लोठ बनायो । घरबाट चिण्डोमा लगेको पानी पनि छिनछिनमा खा“दा सकिगएको हु“दा रोघाले नजीकै बगिरहेको खोलामा गएर धित मरुञ्जेल पानी खाने निधो गरिन् ।
उनले खोलामा गएर पानी खाने निधो त गरिन् तर उनकोसामु एउटा समस्या खडा भयो । त्यो समस्या के भने बगिरहेको खोलाबाट पानी उघाएर खाने उनीस“ग कुनै साधन भएन । खोलाको पानीमा बालुवा र पतकरका कणहरु मिसिएर बग्ने हु“दा थिग्य्राएर खानु आवश्यक थियो । त्यसैले उनले खाजा ल्याएको फोरोवा (काठको बटुको) लाई प्रयोग गर्ने निश्चय गरिन् । ज्यादै गर्मी भएको हु“दा उनले त्यस दिन घरबाट ल्याएको खार्चा (खाजा) पनि खान सकेकी थिइन । खानै मन पनि थिएन । त्यसैले, उनले खार्चा (खाजा) को रुपमा घरबाट ल्याएको भात फोरोवा (काठको बटुको) मै थियो । उनले खोलाबाट पानी उघाएर खानका लागि फोरोवामा रहेको भात नजीकैको एउटा पोथ्राको चारपा“च वटा पात टिपेर त्यसमा खन्याइन् र पोथ्रामै बेरिएको लहराहरुले बा“धेर त्यही“ पोथ्रामा झुण्डाइदिइन् । त्यसपछि खाली फोरोवा (काठको बटुको) लिएर खोलातिर झरिन् । खोलामा पुगेर उनले बगिरहेको पानी फोरोवा (काठको बटुको) मा उघाएर केही बेर थिग्य्राउँदै धित मरुञ्जेल खाइन् । त्यसरी पानी खाँदा उनलाई एक किसिमको तृप्ति भयो र खोला छेऊमा रहेको ठूलो रुखको सियालमा गएर ढल्किन् । पानीबाट प्राप्त तृप्ती र रुखको सियालको शितलताले उनलाई झपक्क निद्राले छोप्यो र भुसुक्कै निदाइन् । निद्राबाट ब्यू“झिदा त दिन ढल्किसकेको थियो । घाम निस्तेज भएर डा“डामा पुगिसकेको थियो । हत्तपत्त उठेर उनी लोहासेमा उक्लिन् । खेतालाहरु पनि सबैजना घर लागिसकेका थिए । उनी पनि हतार हतार सामान साङदाङ (थुङ्से) मा हालेर घरतिर लागिन् । उनले अघि पातमा पोको पारेर पोथ्रामा झुण्ड्याएको खार्चा (खाजा) लाई भुसुक्कै बिर्सिइन् ।
त्यसको तीन दिनपछि मात्रै रोघा खेतालाहरुसँग लाहोसेमा झरिन् । त्यसदिन आधामेलो काम गरिसकेपछि खार्चा (खाजा) खाने बेला भयो । त्यस बेला पो उनलाई अस्तीको दिन आफूले पातमा लहराले बाँधेर पोथ्रामा झुण्ड्याइराखेको खार्चा(खाजा) को झल्यास्स सम्झना भयो र पोथ्रामा झुण्डयाइराखेको खार्चा (खाजा) नजीक गइन् । उनी खार्चाको नजीक पुग्दा उनको नाकमा अनौठो मगमग वासना आएर ठोकियो । उनले त्यस्तो खाले वासना कहिल्यै पनि अनुभूति गरेकी थिइन । उनले त्यो वासना कताबाट आएको भनेर यतायता हेर्दा त पातमा पोको पारेर झुण्ड्याइएको आफ्नै खार्चा (खाजा) बाट उक्त मगमग वासना आइरहेको चाल पाइन् ।
त्यो अनौठो वासनाबाट मुग्ध हुँदै रोघाले खार्चालाई पातको पोका फुकाएर खोलिन् र औंलाले अलिकति झिकेर चाखिन् । उनलाई त्यो परिवर्तित खार्चा (खाजा) औधी मीठो र गुलियो लाग्यो । उनले फेरि अलिकति खाइन्, झन मीठो लाग्यो । खार्चा खाँदै जाँदा उनलाई एक प्रकारको रमरम भएर अनौठो आनन्दमय अनुभूति पनि भयो । उनले आफ्नो गाला पनि तात्तिएजस्तो अनुभव गरिन् । सबैभन्दा अनौठो त काम गर्दा उनको शरीरमा लागेको थकान पनि बिलिन भएजस्तो लाग्यो । त्यसपछि, रोघाले सबै खार्चा खाइसिध्याइ दिइन् ।
त्यसदिनदेखि उनले घरबाट खार्चा ल्याउँदै त्यसरी पातमा पोको पारेर लहराले बाँधेर झुण्डाइराख्ने र तीन चार दिनपछि मगमग वास्ना आउन थालेपछि खाने गर्न थालिन् । उनलाई बिस्तारै त्यसको लत बस्दै गयो र त्यो विशिष्ट प्रकारको परिवर्तित खार्चाले उनको स्वास्थ्य राम्रो र रुप–लावण्य निख्रिदै गएर मुख–मण्डल पनि लालिमायुक्त हुँदै गयो । परिवर्तित खार्चा (खाजा) खा“दा उनले काम गर्ने शक्तिमा पनि दोब्बर वृद्धि भएर गएको अनुभूति गरिन् ।
आफ्नी अत्यन्तै मिल्ने संगीनी रोघाको स्वास्थ्य र रुप–लावण्यमा आएको परिवर्तनको सुम्निमाले सूक्ष्म अध्ययन गरिरहेकी थिइन् । त्यसैले उनले एकदिन लोहोसे जान लागेकी रोघालाई छेड हान्दै सोधिन्–“हैन हौं रोघा, तिमी त अचेल निकै हृष्टपुष्ट हु“दै गएकी छौ“ । अनुहारमा पनि लाली बढ्दै गएर मभन्दा पनि राम्री देखिन थाल्या“ै । यसको पछाडि के राज छ ह“ ?”
दुई संगीनीबीच केही नलुक्ने भएकोले सुम्निमाको प्रश्नको जवाफमा रोघाले आफूस“ग घटेको घटना र आफूले गर्दै आएको सम्पूर्ण कुराको वृत्तान्त कहिदिइन् । रोघाको कुरा सुनेर सुम्निमालाई पनि अचम्म लाग्यो र जिज्ञासाबश त्यस दिन उनी पनि रोघासितै लोहोसेमा झरिन् । लोहासेमा पुगेर उनले पनि परिवर्तित खार्चा (खाजा) चाखिन् । सुम्निमालाई पनि अद्भूत् आन्दानुभूतिका साथै थकान पनि मेटिएको अनुभूति भयो । त्यसपछि, सुम्निमाले आ“खा चिम्लिएर आफ्नो त्रिकालदर्शिनी आत्मज्ञान प्रयोग गर्दै खार्चामा के कारणले त्यस्तो अनौठो गुण उत्पन्न भएको हो ? भन्ने चिन्तन गर्न थालिन् ।
उनले खार्चा राखेको पात र बा“धेको लहरामा खावा (मर्चा)को शक्ति भएको र त्यसको कारणले खार्चाको रुपमा रहेको भातबाट छुवा (अत्यन्तै स्वादिलो रस) मा परिणत भई त्यसमा महौषधि गुण उत्पन्न भएको कुरा आत्मचिन्तनबाट पत्ता लगाइन् । उक्त कुरा सुम्निमाले रोघालाई पनि बताइन् । त्यसपछि, दुबैले आपसमा सल्लाह गरी अबदेखि खावा (मर्चा) लाई घरमै लगी व्यवस्थित ढंगबाट छुवा (गुलियो रस) को गुणयुक्त चुवा (जा“ड) को उत्पादन गर्ने र त्यसलाई हरेक धार्मिक कार्य र संस्कारमा सीमित मात्रामा औषधि र पवित्र–जलको रुपमा प्रयोग गर्ने निर्णय गरे ।
सुम्निमा र रोघाले खार्चा (खाजा) बा“धेको विशेष पात र लहराहरुलार्ई खोजेर घरमा ल्याए । त्यसलाई कुटेर स–साना रोटी आकारमा सुरक्षित राख्ने र चुवा निर्माण गर्दा जुनसुकै बेला पनि प्रयोग गर्न सकिने पद्धतिको विकास गर्दै खावा (मर्चा) बनाए । त्यसपछि, गाउँका सबै जनालाई भेला गरेर सुम्निमाले रोघालाई खावा (मर्चा) को आविष्कारक घोषणा गरिन् । त्यसपछि, चुवा (जाँड) बनाउन पकाएर सेलाइएको अन्नमा खावा (मर्चा) मोलेर चुलोबाट अगुल्टो ल्याई “लौ रोघा यो अग्नि साँछी छ, तिमीले यस्तो अमृत रस र महौषधि बनाउने वस्तु पत्ता लगाएकी हुँदा तिम्रो नाम कालान्तरसम्म अमर रहोस् †” भन्दै अगुल्ठो झोसिन् र तीन पटक “रोघा रोघा रोघा” भन्ने शब्दोच्चाहरण गरिन् । उनले सबै उपस्थित याक्खाहरुलाई जाँड बनाउने विधि सिकाउँदै रोघालाई खावाको आविष्कारकको रुपमा सँधैं स्मरण गर्नका लागि ‘रोघा रोघा रोघा’ उच्चाहरण गर्नुपर्ने नियम सुनाइन् । सबै याक्खाहरुले त्यसलाई आत्मसात गरे ।
त्यहीं“देखि आजसम्म याक्खा जातिमा जाँड बनाउन पकाएर सेलाइएको अन्नमा खावा (मर्चा) हालेर मोलिसकेपछि पोका पार्नु वा घ्याम्पामा हाल्नुअघि अगुल्ठो ल्याएर झोस्दै खावाका आविष्कारक रोघाको सम्झनामा तीन पटक “रोघा, रोघा, रोघा” भन्ने प्रचलन चलिआएको हो भन्ने जनविश्वास रहेको छ । यसरी याक्खा जातिमा मर्चाको आविष्कार हुन गएको हो र अद्यापि आविष्कारक रोघाको संझना गर्ने गरिन्छ ।
१. याक्खा भाषामा ‘सुम’ को अर्थ तीन र ‘निमा’ को अर्थ दर्शन गर्ने अर्थात् देख्न सक्ने महिला भन्ने बुझिन्छ । त्यसैले, सुम्निमालाई ‘त्रिकालदर्शिनी’ मान्ने गरिन्छ ।
गोपाल देवान, धरान
९८४२०३९४५१
semmangbis@gmail.com


Comments
Post a Comment