आदिवासी जनजाति प्रतिष्ठानको समीक्षा गर्दै योजना बनाउन कार्यदल
प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले ‘प्रतिष्ठान स्थापना भएदेखि अहिलेसम्म भएका कामहरुको समीक्षा तथा पुनरावलोकन गर्दै आगामी कार्यक्रम प्रस्ताव तयार’ गरी पेश गर्नका लागि ज्ञानेन्द्र पुनमगरको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
प्रतिष्ठानको सबै महाशाखा, शाखा र अधिकृतहरु प्रमुख सदस्य रहने गरी गठन गरिएको कार्यदलले साउन १५ सम्म प्रतिवेदनको मस्यौदा तयार गर्नेछ ।
त्यस्तै, साउन २५ सम्म आदिवासी जनजाति महासंघ र आदिवासी जनजातिहरुको महासंघीय संरचना भएका महिला, पत्रकार, युवा, बिद्यार्थी, चलचित्रकर्मी, अपाङ्ग महासंघसँग छलफल गर्ने कार्ययोना तय गरिएको संयोजक पुनले बताए ।
साउन ३० गतेसम्म सन्चालक परिषद्को उपलब्ध सदस्यहरु र प्रतिष्ठानको पूर्वपदाधिकारी तथा आदिवासी जनजाति विज्ञहरूसँग छलफल गर्ने, भाद्र पहिलो हप्ताभित्र मन्त्री, मन्त्रालय र राष्ट्रिय योजना आयोग सहितको निकायहरुसँग छलफल गर्ने योजना बनाएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको उपाध्यक्षमा गोकुलप्रसाद घर्ती नियुक्तिसँगै प्रतिष्ठानले गतिका साथ काम गर्न समीक्षा गर्दै नयाँ योजना तर्जुमा गर्न लागेको हो ।

Comments
Post a Comment