तेन्ताम्मा (वृहद् गाउँपूजा, भूमेपूजा)
याक्खा जातिका आफ्नै छुट्टै मौलिक धार्मिक–सांस्कृतिक पक्षहरुमध्ये याक्खाद्वारा परापूर्व कालदेखि मनाउँदै आएको सांस्कृतिक पक्ष तेन्ताम्मा पनि हो । यो पूजा पनि याक्खा समुदायले गर्ने प्रकृतिपूजाको एक रुप हो । विशेष गरी यो पूजा गाउँको शीर उठाउन आयोजना गरिने ‘बृहद् गाउँपूजा’ हो । यस पूजालाई ‘भूमेपूजा’ र ‘धुल पूजा’पनि भन्ने गरिन्छ ।
तेन्ताम्मा गरेपछि गाउँ र गाउँका मानिसहरु स्वस्थ र हावापानी तथा प्रकृति राम्रो हुने विश्वास याक्खा समुदायमा रहेको छ । यो पूजा खास यही तिथि या यही मितिमा गरिनुपर्छ भन्ने कुनै मान्यता छैन । त्यसैले २ वर्षदेखि लिएर १० वर्षभित्र पनि यो पूजाको आयोजना गर्न सकिने याक्खा पाघ्याम–माघ्यामहरु (बुढाबुढीहरु) बताउँछन् । पूजा आयोजना गर्ने कुरा परिस्थितिमा भर पर्दछ । जब गाउँमा अनावृष्टि, रोगव्याधी, अनिकाल, खेतीपातीमा ¥हासलगायत अन्य विपत्तिहरु बढ्दछन्, तब ती विपत्तिहरुलाई निराकरण गर्नका लागि गाउ“का पाघ्याम–माघ्यामहरु र मझिया(गाउँका मूली, प्रमुख) सँग सल्लाह गरी तेन्ताम्मा को आयोजना गरिन्छ । विपत्तिहरु बढ्नु गाउ“को शीर ढल्नुको अर्थमा लिई सबै खराबीहरुलाई पन्छाउँदै राम्रो र असल होस् भन्ने कामनाका साथ गरिने गाउँपूजा नै तेन्ताम्मा हो । गाउँ वा क्षेत्रस्तरीय रुपमा सम्पन्न हुने यो पूजामा गाउँ÷क्षेत्रभरिका सबै याक्खाजनहरुको सहभागिता अनिवार्य हुन्छ । अन्य जातिका मानिसहरुलाई पूजास्थलमा प्रवेश दिइदैन ।
तेन्ताम्मा गरेपछि गाउँ र गाउँका मानिसहरु स्वस्थ र हावापानी तथा प्रकृति राम्रो हुने विश्वास याक्खा समुदायमा रहेको छ । यो पूजा खास यही तिथि या यही मितिमा गरिनुपर्छ भन्ने कुनै मान्यता छैन । त्यसैले २ वर्षदेखि लिएर १० वर्षभित्र पनि यो पूजाको आयोजना गर्न सकिने याक्खा पाघ्याम–माघ्यामहरु (बुढाबुढीहरु) बताउँछन् । पूजा आयोजना गर्ने कुरा परिस्थितिमा भर पर्दछ । जब गाउँमा अनावृष्टि, रोगव्याधी, अनिकाल, खेतीपातीमा ¥हासलगायत अन्य विपत्तिहरु बढ्दछन्, तब ती विपत्तिहरुलाई निराकरण गर्नका लागि गाउ“का पाघ्याम–माघ्यामहरु र मझिया(गाउँका मूली, प्रमुख) सँग सल्लाह गरी तेन्ताम्मा को आयोजना गरिन्छ । विपत्तिहरु बढ्नु गाउ“को शीर ढल्नुको अर्थमा लिई सबै खराबीहरुलाई पन्छाउँदै राम्रो र असल होस् भन्ने कामनाका साथ गरिने गाउँपूजा नै तेन्ताम्मा हो । गाउँ वा क्षेत्रस्तरीय रुपमा सम्पन्न हुने यो पूजामा गाउँ÷क्षेत्रभरिका सबै याक्खाजनहरुको सहभागिता अनिवार्य हुन्छ । अन्य जातिका मानिसहरुलाई पूजास्थलमा प्रवेश दिइदैन ।
गाउँभरिका याक्खा परिवारहरुको अनिवार्य सहभागिता रहने तेन्ताम्मा लाई भव्य तथा व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि चारवटा हुरीहरु (टोलीहरु) को निर्माण गरिन्छन् । ती चार हुरीहरुमा
(१) माङ्थाम हुरी (पूजाथान निर्माण टोली)
(२) माङ्चुवा हाङ्बा तथा च्याङ हुरी (चोखो पानी संंकलक तथा पूजा टोली)
(३) चामाउङ्मा हुरी (भोजभतेर व्यवस्थापन टोली) र
(४) तेन्थुङ्खुवा वा कुखुवा हुरी (गाउँरक्षक टोली) हुन्छन् ।
उपर्युक्त चार हुरीहरु (टोली÷समूहहरु) मा संलग्न याक्खाहरुले कार्य विभाजनअनुसार आ–आफ्ना कार्यहरु सम्पादन गर्ने गर्दछन् ।
पहिलो टोली, माङ्थाम हुरीले माहाङ्मा (याक्खा पुजारी) र मझियाको सल्लाह तथा निर्देशनअनुसार उपयुक्त स्थानमा पूजास्थलको चयन तथा माङथाम (पूजाथान) निर्माण गर्ने काम गर्दछ । यस टोलीमा जान्ने याक्खा बुढाबूढीहरु (पाघ्याम–माघ्यामहरु) को बढी सहभागिता रहेको हुन्छ । पूजास्थलका लागि उपयुक्त स्थान चयन गरेपछि पूजाको विधिअनुरुप त्यहाँ लिङ्गो गाडी धजा र फूलपातीहरुले सजाई माङ्थाम (पूजाथान) को तयारी गरिन्छ र विभिन्न स्रोत र मुहानहरुबाट ठूलो मुख भएको लौकाको चिण्डो ‘होलोप्मा’मा ल्याइएका पानी माङ्थाममा राखिन्छ । पूजाका लागि चाहिने बाँकी सामानहरुको व्यवस्था र आपूर्ति गर्ने माङथाम हूरीको जिम्मामा हुन्छ ।
दोस्रो टोली, माङ्चुवा हाङ्बा तथा च्याङ हुरी यो पूजाका लागि मुख्य हुरी हो । त्यसमा गाउँ वा त्यस क्षेत्रका मझिया, जिमी, गौरुङ्ग, कारबारी, गाउँका पाघ्याम–माघ्यामहरु र माहाङ्बा (याक्खा पूजारी) संलग्न रहेका हुन्छन् । यो टोलीले गाउँवरिपरिका पानीको मुहान वा पँधेरोहरु अर्थात् पानीका स्रोतहरुबाट ठूलो मुख भएको लौकाको चिण्डो ‘होलोप्मा’मा वा चोखो वा शुद्ध पानी–‘माङ्चुवा’ (देउती पानी) खोजेर ल्याउने र उपयुक्त ठाउँमा बनाइएको माङ्थाम (पूजाथान) मा विधिअनुसार पूजाआजा गर्ने काम गर्दछ । याक्खा जातिमा प्रकृतिप्रति मानवीय व्यवहार गर्ने अनौठो चलन छ, त्यो हो, धारा, कुवा, खोला, पधेँरो, भूमिलाई पनि सामेत्लिङ (सम्मानजनक पद्वी÷गोत्र) दिने चलन छ । पूजा गर्दा आफ्नो गाउ“÷क्षेत्रको सामेत्लिङअनुसार नै गरिन्छ ।
यस पूजामा मुहानबाट खोजेर ल्याइएको ‘माङचुवा’ (देउती पानी) माङथाम (पूजाथान) मा राखिएका फुमहरु (साना चिण्डोहरु) मा राखिन्छ र माहाङ्बाले सोही पानीबाटै पूजा कार्य सम्पन्न गर्दछन् । माहाङ्बा नै यस पूजाको मुख्य पुजारी हुन् । माङ्थाम एकमात्र वा एकभन्दा बढी पनि हुन्छन् । माङ्थामअनुरुप माहाङ्बा पनि निर्धारण गरिन्छ । जति माङ्थाम बनाइन्छ, त्यति जना माहाङबाहरु आवश्यक पर्दछ । पूजामा धान (चाबाक) वा अन्न दाइ गर्दा उठाइएको चोखो अन्नलाई ‘सह’ को रुपमा पूजा गरिन्छ ।
पूजाका लागि प्रत्येक याक्खा घरपरिवारबाट घरका मूली स्वास्नी मान्छेले साङदाङ (थुंग्से) मा नया“ सेतो कपडाले छोपेर फूलपाती, धूपदीप र मझौला चिण्डो ‘चुहोम’ मा ६ महिने कोदोको जाँडसहित ‘सह’रुपी अन्न पूजाथान ल्याउनु पर्दछ । त्यस कार्यमा प्रयोग गरिने साङदाङ पनि नया“ बुनेको वा पहिले नचलाइएको हुनुपर्दछ । पूजाका लागि अदुवा र तेत्ला (केराको पात) अनिवार्य चाहिन्छ । माहाङ्बाले पूजाको क्रममा एक हातमा सेउली र अर्को हातमा जाँड राखेको चुहोम लिएर मुन्धुम फलाक्छन्, जसलाई “फाक्माना” भनिन्छ । फाक्मानाअन्तर्गत माहाङ्बाले मेहराङमा (अन्नपातकी देवी), पाङदुराङमा (जंगलकी देवी), राजीराङमा (प्रकृत्तिकी देवी), साम्सीराङमा (जडीबुटी र वनस्पतिकी देवी), पाङला (पितृ), खाम (धर्ती), तुन्ख्याङ (आकाश), पारोहाङ (स्वर्गको देवता वा महादेव), सुम्निमा (त्रिकालदर्शिनी) र निङमाफुमाङ (सरस्वती) लगायत गाउ“वरपरका सबै देवीदेवताहरुको नाम लिई गाउ“वासीहरुको सुस्वास्थ्य तथा शान्ति–सुरक्षाको कामना गर्दछन् ।
बेलुका पूजा सकिएपश्चात् घरका मूली स्वास्नी मान्छेहरुले ल्याएका साङ्दाङमा माहाङ्बाद्वारा आसिरवादको रुपमा प्रदान गरिएका ६ महिने जाँड, अछेता र प्रसादहरु घर–घर लगिन्छन् र चुहोमको ६ महिने जाँड निकालेर सेउलीले घरवरिपरि र घरका प्रत्येक चोटा–कोठाहरुमा छर्किइन्छ । यसो गर्दा गाउँमा व्याप्त रोगब्याधीहरु भाग्ने विश्वास गरिन्छ । याक्खा विद्वान तथा साहित्यकार बम देवानका अनुसार ६ महिनासम्म घ्याम्पामा राखिएको कोदोको जा“ड ‘एण्टी ब्याक्टिरियल’ हुन्छ, जसमा रोगका कीटाणुहरुलाई मार्ने सक्ने क्षमता हुन्छ । यो एक वैज्ञानिक तथ्य हो ।
तेस्रो टोली, चामाउङमा हुरी अर्थात् भोजभतेर व्यवस्थापन टोलीले त्यस पूजामा सहभागी सम्पूर्ण याक्खाहरुको लागि बिहानको सामूहिक खानाको तयारी गर्ने काम गर्दछ । त्यस दिन प्रत्येक घरबाट ल्याइएका चामलहरु एकै ठाउँमा मिसाएर पकाइन्छ र सामूहिक रुपले भतेर खाने गरिन्छ । तिहुन भने कसै–कसैले आ–आफ्नै घरबाट ल्याएका हुन्छन् । यो एक वनभोज कार्यक्रम जस्तो पनि हुन्छ । हिजोआज वनभोजको पश्चिमीकरण भई ‘पिकनिक’ मनाउने चलनले गर्दा वनमा भोज नगरी राम्रा–राम्रा ठाउँहरुमा जाने प्रचलन बढ्दै गएको पाइन्छ । तर वास्तवमा, भन्नु पर्दा वनभोज भनेको जङ्गली अवस्थाबाट सभ्य भई हालको अवस्थामा आएका आजका मान्छेहरुले एक दिन भए पनि आफ्ना आदिम जङ्गली पूर्खाको सम्झनामा खाने प्रचलन हो । यही प्रचलन याक्खा जातिको तेन्ताम्मा मा दृष्टिगोचर हुन्छ । यस पूजामा गाउँका सबैले सामूहिक भोजन गर्नुपर्ने हुँदा यसले आदिम साम्यवादी परिवारको अवशेषको छनस पनि दिन्छ ।
अन्तिम टोली, तेन्थुङखुवा वा कुखुवा हुरी अर्थात् गाउँरक्षक टोली (ख्ष्ििबनभ ध्बचचष्यच त्भबm) टोली हो । यस हुरीमा युवा याक्खाहरुको मात्र संलग्नता रहेको हुन्छ । तेन्थुङ्खुवा वा कुखुवा हुरीको मुख्य काम तेन्ताम्माभरि माङ्थाम क्षेत्रमा अन्य विजाति मान्छे वा वस्तुभाउहरु आउन नदिई माङथाम क्षेत्रको रखवारी गर्नु हो । यस हुरीको एकजना हाङगुम्बा टोली नेता हुन्छ । दशैंमा याक्खा वस्तीमा खेलाइने तीरन्दाजी अर्थात् धनुको निशानेबाजी खेल ‘पिसिक आप्मा’ मा प्रथम भएर ‘याक्खा हाङ’ घोषित युवा नै हाङगुम्बा हुन पाउँछ । यो हुरीले गर्ने सुरक्षात्मक कामकार्वाही रमाइलो खालको हुन्छ । गाउँरक्षक टोलीमा सहभागी याक्खा युवाहरुले आफ्नो सबै वस्त्र फुकालेर कट्टुमात्र लगाएका हुन्छन् । त्यसपछि, हिलोको पाखरी बनाएर नाङ्गो शरीरसँगै त्यसमा चोपलिएर हिलोकै परिधान लाउ“छन् । अनुहारमा पनि हिलो दलेर कमाण्डोले जस्तो नचिनिने गरी हिलोकै धर्काहरु कोरेर हातमा तरवार, ढाल, धनु–काँड (पिसिक) लिएर पूजाथान क्षेत्रको वरिपरि कोरिएका सीमाहरुको रखबारी गर्दछन् ।
तेन्थुङ्खुवा वा कुखुवा हुरीमा सहभागी युवाहरुले एक किसिमको नृत्यको तालमा ‘उ..लु..लु..लु...” भन्ने आवाज निकाल्दै सीमारेखा वरिपरि दौड्दै होल्ला गर्दै रमाइलो गर्दछन् । तेन्थुङ्खुवाका युवा रक्षकहरुले आ–आफ्ना शीरमा रुखको बोक्राको फेट्टा बाँधी निधारपट्टि कालिजको प्वाख र उन्यू ठाडो पारेर लगाएका हुन्छन् । तिनीहरु पूजास्थलको सरहद् वा क्षेत्रभित्र विजातिका मान्छे, शत्रु वा बोक्सी, डाइनी, भुत–प्रेत आदि प्रवेश नहोस् भनेर सतर्क रहन्छन् । गाउँरक्षक टोली, त्यसका अनौठो श्रृंगार र हातहतियार र त्यसले गर्ने कार्यका आधारबाट उहिल्यै याक्खाहरु समाज विकासको क्रममा कविला अवस्थामा भएको बेला अन्य शत्रु कविलाबाट आफ्नो गाउँ वा समूहमाथि आक्रमण नहोस् भनेर तेन्थुङ्खुवा वा कुखुवा हुरीको व्यवस्था गरिएको थियो होला र पछि त्यही कुरा याक्खा जातिको सांस्कृतिक पक्ष बनेर तेन्ताम्मामा अवशेषको रुपमा रहेको होला भन्ने अनुमान गर्न सकिन्छ ।
(नोट ः विभिन्न याक्खा बन्धुहरुस“ग, विशेष गरी याक्खा विद्वान तथा साहित्यकार बम देवानस“ग याक्खा धर्म र संस्कृतिबारे छलफल गर्ने क्रममा प्राप्त जानकारीहरुलाई मात्रै लेखमा समावेश गरिएको हुदा यो लेख पूर्ण छैन । यस लेखको सम्बन्धमा इमान्दारितापूर्वक भन्ने हो भने यसमा स्थलगत अध्ययन र अनुसन्धान गरिएको छैन । तैपनि याक्खा धर्म र संस्कृतिबारे केही जानकारी होस् भन्ने हेतुले प्रस्तुत गरिएको हो । यसमा भएका त्रुटीहरु र छुटेका कुराहरु जानिफकारहरुले लिखित रुपमा इङ्गित गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।)
गोपाल देवान, धरान
९८४२०३९४५१
semmangbis@gmail.com
Comments
Post a Comment