याक्खा सांस्कृतिक टोलीको दार्जिलिङ र सिक्किमको यात्रा

 
याक्खा भाषा र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यअनुसार विभिन्न कारणवश भारतका दार्जिलिङ तथा सिक्किमका याक्खाहरुसँग सम्बन्ध गाँस्ने र त्यहाँसम्म याक्खा सांस्कृतिक पक्षहरु पु¥याउने कार्य किरात याक्खा छुम्मा, सुनसरी र याक्खा सांस्कृतिक उत्थान मञ्च, सुनसरी, धरानको संयुक्त पहलमा गत २०६० साल चैत्रमा सम्पन्न भएको थियो । यस सानो लेखमा सृतिस्वरुप सोही दार्जिलिङ, कालिम्पोङ, खार्साङ र सिक्किममा धराने याक्खा कलाकारहरुले सम्पन्न गरेको सांस्कृतिक यात्राबारे सङक्षेपमा वर्णन गरिएको छ ।

      चैत्र २८ र २९ गते भारतको दार्जिलिङस्थित गोर्खा दुःख निवारण संघको भवनमा सम्पन्न अखिल भारतीय किरात याक्खा देवान संघको प्रथम ऐतिहासिक महासम्मेलनमा भाग लिन तथा याक्खा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न त्यहा“बाट निम्तो प्राप्त भएअनुरुप किरात याक्खा छुम्मा, सुनसरी र याक्खा सांस्कृतिक उत्थान मञ्चका १० सदस्यीय कलाकारहरु तत्कालिन कियाछु केन्द्रीय सदस्य तथा यासांउमञ्च। सुनसरीको अध्यक्षको हैसियतमा मेरो नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको थियो । 
सो याक्खा कलाकारहरुको टोलीमा कियाछु, सुनसरीका सदस्य कृष्ण याक्खालगायत कलाकारहरु रमेश लिम्बुखिम, जीवन देवान, होम देवान, रागिनी याक्खा, प्रमिला याक्खा, अनिला याक्खा, सरिता याक्खा र नुमा लिम्बू समावेश थिए । उक्त टोलीले दार्जिलिङमा सम्पन्न अखिल भारतीय किरात याक्खा देवान संघको प्रथम ऐतिहासिक महासम्मेलनमा याक्खा जातिको विशेष सांस्कृतिक पहिचानरुपी डोकेनीलाक (डोकेनी नृत्य), याक्खा भाषाका गीतमा आधारित नृत्यहरु र केइलाक (ढोल नृत्य) प्रस्तुत गरेका थिए । 

परम्परागत डोकेनीलाकलाई धरानका नृत्य निर्देशक नगेन्द्र लोहोरुङ राईद्वारा परिशोधित गरी लगिएको थियो । कार्यक्रममा याक्खा गायक तथा याक्खा भाषाको प्रथम गीति एल्बमका प्रस्तोता रमेश लिम्बुखिमले ट्रयाकमा याक्खा गीतहरु गाएर प्रवासी याक्खा बन्धुहरुलाई मन्त्रमुग्ध बनाउँदै प्रभावित पारेका थिए । तेताका याक्खा देवानहरुले लामो समयदेखि आफ्नो मूलथलोबाट अलग्गिएर भाषा बिर्सिएको हुँदा याक्खा भाषाप्रति अति लगाव देखाएका थिए । त्यहीँ भएर कलाकार  रमेशले याक्खा भाषामै आफ्नो मन्तव्य दिंदा तालीको ठूलो गडगडाहट आएको थियो ।
सो महासम्मेलनमा के.स.गोपाल देवानले किरात याक्खाहरुको उत्पत्ति, इतिहास र सांस्कृतिक पक्षहरुबारे सम्भाषणमार्फत् प्रष्ट्याउनु भएको थियो । दुई दिनसम्म चलेको सो महासम्मेलनमा दुई दिनै याक्खा कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 
याक्खा सांस्कृतिक टोलीले नववर्ष २०६१ सालको आगमन तथा आफ्नो स्थापनाको दशक वर्षको अवसर पारी गोर्खा पार्वत्य परिषद्को भातृ संगठन गोर्खा सांस्कृतिक संस्थानद्वारा खारसाङको मोण्टेभियटमा आयोजित ‘राष्ट्रिय सांस्कृतिक परिमिलन कार्यक्रम’ मा डोकेनी नृत्य र याक्खा गीतमा आधारित नृत्यहरु देखाएको थियो, जसलाई स्थानीय दर्शकहरुले डोकोभित्र पसेर नाचिने अनौठो तथा नौलो नृत्यलाई खूबै मन पराएर सराहना गरेका थिए । 

नृत्यपछि खारसाङका याक्खा देवान र अन्य जनजातिहरुले डोकेनीलाकको प्रस्तुतीले याक्खाहरु पृथक किरात जाति भएको महसूस गराउन सफल भएको प्रतिक्रिया व्यक्त गरेका थिए । 
याक्खा सांस्कृतिक टोलीले कालेबुङको पेदोङ र सिक्किमको गान्तोकमा पनि आफ्ना सांस्कृतिक पक्षहरु प्रस्तुत गरेका थिए । पेदोङमा त्यहा“का प्रतिष्ठित याक्खा विद्वान डा. डीक बी. देवानको घर र सिक्किममा त्यहा“का प्रतिष्ठित याक्खा विद्वान डा.रतनकमल देवानको घरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 
सिक्किममा परम्परागत डोकेनीसमेत बनाई प्रदर्शन  गरिएको थियो । उक्त अवसरमा भेला भएका सिक्किमे याक्खा देवानहरुले डोकेनीको प्रस्तुतीले ‘साक्षात् लक्ष्मीदेवी’ आफ्नो घरमामात्र हैन, सिक्किममै प्रवेश गरेको प्रतिक्रिया व्यक्त गरेका थिए । डा. रतनकमल देवानलगायत उपस्थित सिक्किमे याक्खा देवानहरुले आगामी दिनमा पुनः सांस्कृतिक टोली लिई आउन निम्तो पनि दिनुभएको थियो । 
देशभित्रै आफ्नो भाषा र संस्कृति हराई आफ्नै भूमिमा पराइ बनिरहेका याक्खाहरुले भारतका दार्जिलिङ, खारसाङ, कालेबुङ र सिक्किममा याक्खा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर एकातिर याक्खा संस्कृतिलाई पुनर्जागरण गर्ने पुनित कार्य गरेको छ भने अर्कोतिर सयौं वर्षअगाडि बिदेशिएका याक्खा बन्धुहरुबीच फेरि रगतको साइनो गा“स्न पुगेको छ । 
 त्यहाका याक्खाहरु बि.सं. १८३१ मा गोर्खाली सेनाले चैनपुरमा आक्रमण गरी षड्यन्त्रमूलक तरीकाले याक्खालेन (याक्खावान–याक्खाभूमि.दश मझिया, पाच मझिया र पाच खप्पन) गोर्खा राज्यमा विलय गरेपश्चात् आफ्नो मूलभूमिबाट खेदिएर भारतको दार्जिलिङ, खारसाङ, कालेबुङ, पेदोङ र सिक्किम पुगेका देखियो । किनभने चैनपुर आक्रमण र उनीहरु त्यहा“ विगत २०० वर्षदेखि बसिरहेको कथन र कालावधिमा सापिप्यता थियो । त्यहाका याक्खाहरुमा नेपालबाट याक्खा सांस्कृतिक टोली गई विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको यो नै प्रथम पटक हो । त्यसैले याक्खा सांस्कृतिक टोलीको सो भ्रमण आफैमा एक ऐतिहासिक घटना बन्न पुगेको छ ।

यसरी, सुनसरीका याक्खा कलाकारहरुले विदेशमा रहेका याक्खा देवानहरुमा जातीय तथा सांस्कृतिक लहर ल्याइरहेको र अखिल  भारतीय किरात याक्खा देवान संघ स्थापना गरी भारतमा रहेका याक्खा देवानहरुमा जातीय एकता, बन्धुत्वको भावना, जातीय अस्तित्वको खोजी र पृथक पहिचानका लागि जागृति आइरहेको बेला देशभित्रका कतिपय याक्खाहरु अझै कुम्भकर्णे निद्रामा मस्त निदाइरहेका छन् । जानी वा नजानी ‘राई र लिम्बू’ मा विलिन भइरहेका छन् र केही याक्खाहरु गोर्खाली शाह शासक वर्गले विगतमा याक्खा जातिमै फूट पैदा गरी शोषण, दमन र दोहन गर्न दिएको सामन्ती ‘देवान’ पगरीको आधारमा आज ‘हिङ’ नभए पनि ‘हिङ बाधेको टालो’ बोकेर आफूलाई ‘छुट्टै जात’को रुपमा चिनाइरहेका छन्, जुन कुराले आज हाम्रो एकता र अस्तित्व संकटमा पर्दै गइरहेको छ । अब पनि हामी नजागे अनि जातीय उत्थानमा नलागे हामी याक्खाहरुको वंश, अस्तित्व र पहिचान स“धैको लागि समाप्त हुनेछ, हाम्रा सन्ततीहरुको विनाश हुनेछ ।

  त्यसैले आजको आवश्यक्ता यही हो कि–‘समस्त याक्खा बन्धुहरु अब कुम्भकर्णे निद्रा फालेर जाग्नुपर्छ र याक्खा भाषा, संस्कृति र पहिचानका लागिमात्र होइन, याक्खा भूमि र अधिकारका लागि नै सचेत भई व्यक्तिगत स्वार्थ त्यागेर आन्दोलनमा अनुवाद भएर लाग्नुपर्छ ।’
अन्तमा,
अस्तित्वहिनताको गर्तबाट उठेर 
पहिचानको खोजीमा हिडौ अब
सङ्गाल्दै अदम्य आकाङक्षाहरु
अ“ध्यारोको किल्लाबाट धावा बोल्दै
उज्यालोको खोजीमा निस्कौं अब 
सम्पूर्ण किरात याक्खाहरु
हुन्छ एकदिन– 
हाम्रोअघि सुनकल्छे बिहानीको आगमन
समस्त याक्खामा मेरो हार्दिक अभिवादन !! 
गोपाल देवान, धरान
९८४२०३९४५१ 
semmangbis@gmail.com

Comments

Popular posts from this blog

पूर्व तताइरहेको ढुङ्गा "खुवालुङ"

याक्खा समुदायमा ‘बलि राजाको हुकुम’ Yakhha culture

किराँत याक्खा जाति भित्र विविधतामा एकता आवश्यक